आजदेखि कालिञ्चोक दर्शन आइपिओ खुला

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

कम्पनीले आजदेखि प्रतिकित्ता १ सय अङ्कित दरमा ८ लाख ९६ हजार ४ सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन आइपीओ को निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड को १८ प्रतिशतले हुने १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । यसमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, २ प्रतिशतले हुने २१ हजार छ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ र सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४ सय कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

निष्कासन गरिने शेयरमा सर्वसाधारणले छिटोमा आगामी माग ६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे १७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार नौसय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरी खरिदको आवेदन दिन सकिने बताएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केवलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएन्पी बीबी प्लस आईआर’ प्रमाणपत्र प्रदान गरेका छन् ।