दुर्घटनामा निधन भएको २५ शव काठमाडौँ ल्याइयो

काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौँ ल्याइएको छ ।

नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जानकारी दिएका छन् । क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौँ आउने क्रममा छ ।

दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले बताएका छन् । क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार शव बोकेको सेनाको हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

सुरुमा शिक्षण अस्पताल महाराजगञ्जमै हेलिकोप्टर अवतरण गर्ने तयारी गरिएपनि त्यहाँ हुन नसकेपछि पुन विमानस्थलमा अवतरण भएको छ । विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आफन्तलाई बुझाइने प्रवक्ता निरौलाले बताए ।

थप शव लिन सोही हेलिकोप्टर पोखरा जानेछ । दुर्घटनामा बेपत्ताको खोजी कार्य आज पनि बिहानैदेखि सुरु गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको क्यानले जानकारी दिएका छन् ।