जनतालाई सेवा प्रवाह सहज बनाउने मेरो पहिलो प्राथमिकता हो : परराष्ट्र मन्त्री पौड्याल

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले मन्त्रालयबाट जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताउनुभएको छ ।

मन्त्रालयमा पदस्थापनका क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, मेरो पहिलो प्राथमिकता भनेको मन्त्रालयबाट जनतालाई हुने सेवा प्रवाह सहज बनाउने हो । साथै उहाँले नेपालस्थित विदेशी कूटनीतिक नियोगसँग कसरी समन्वयमा काम गर्ने र आफ्नो राष्ट्रिय स्वार्थमा सम्झौता नगरी कसरी बढी लाभ लिन सकिन्छ भनेर द्विपक्षीय सम्बन्ध सृदृढ बनाउने विषय पनि प्राथमिकतामा रहेको बताउनुभयो ।

नवनियुक्त मन्त्री पौड्यालले विदेशमा रहेका नेपाली नियोगमा नेपालीलाई सहज पहुँच बनाई कुनैपनि व्यक्ति दूतावास जाँदा घरमा आएको अनुभव हुने गरी पहुँच र सहजता प्रदान गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सीमा विवाद समाधानसम्बन्धी सञ्चारकर्मीको जिज्ञासामा उहाँले सबैसँग अध्ययन र छलफल गरेर सो विषयमा अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले हाम्रो परराष्ट्र नीति ‘असंलग्न परराष्ट्र नीति’ भएको बताउँदै सो नीति नै पहिलेदेखि पालना गर्र्दै आएको उल्लेख गर्नुभयो । “त्यसलाई व्याख्या गर्ने क्रममा दलहरुबीच फरक पर्न सक्छ, तर हाम्रो नीति त्यही हो, हालको परराष्ट्र नीतिलाई नै साझा बनाएर अघि बढने हो, व्यक्तिपिच्छे परराष्ट्र नीति हुनुहुदैन”, उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिका प्रभावकारी बनाउने अर्को प्राथमिकताको विषय भएको बताउँदै मन्त्री पौड्यालले भन्नुभयो, अन्तर्राष्ट्रिय मञ्चमा हामी जसरी प्रस्तुत हुन्छाँै, नेपालको छवि पनि त्यही हुन्छ । नेपालको छवि सुदुढ बनाउने गरी अघि बढ्छौँ ।

उहाँले पदस्थापनका क्रममा श्रीलङ्कासँग ‘फरेन सर्भिस ट्रेनिङ इन्स्टिच्यूट’ सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रको म्याद थप गर्ने आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो । यसअघि सन् २०१८ मा भएको उक्त समझदारी पत्रको अहिले म्याद सकिन लागेकाले त्यसलाई आगामी चार वर्षका लागि म्याद थप गर्ने निर्णय सदर गरिएको मन्त्रालयले जनाएको छ । रासस