सभामुख पदमा नेकपा एमालेका सांसद घिमिरेको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधि सभाको सभामुख पदमा नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।बुधबार दिउँसो १ बजेर ५ मिनेटमा सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिएका छन् ।

सांसद घिमिरेलाई सभामुखका लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका छन् भने नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थन रहेका छन् ।

माघ ५ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तावित गर्ने र समर्थकले समर्थन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि दिउँसो १ देखि ४ बजेसम्म तोकिएको छ ।

त्यस्तै, आजै ४ बजे उम्मेदवारी नामावली प्रकाशन गरिने बताएका छन् । उम्मेदवारको सूचीमाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने सचिवालयले जानकारी दिएका छन् ।