दूध चोर्ने विरालो : नयाँ गृह, श्रम र शहरी मन्त्रीको चर्चा

काठमाडौं । चोरलाई साँचो थम्याउँदा चोरी बढ्दैन भन्ने नेपाली उखान अहिले खासै काम लाग्दैन । चोर साँचो दिने होइन चोरलाई गलहत्याउनु नै पर्दछ भन्ने आम नागरिकहरुको भनाई छ । तर लोकतान्त्रिक सरकारका मन्त्रीहरु दुध कुर्ने विरालो जस्तै देखिएका छन् । नयाँ शक्तिका रुपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट श्रम मन्त्री बनेका डोल प्रसाद अर्याल श्रम क्षेत्रका लागि दूध चोर्ने विरालो जस्तै भएका छन् ।

हुन त उनलाई श्रममन्त्री बनाउने उनका पार्टी अध्यक्ष उपप्रधान सहित गृह मन्त्री नै हुन भ्याएका छन् । नागरिकता काण्डमा मुछिएका उनलाई गृहमन्त्री बनाउनु पनि उही दूध चोर्ने विरालोका रुपमा स्वीकार गरिएको छ । जनताले पुराना राजनीतिक दल र तीनका नेताहरुबाट मुलुकले खासै परिवर्तन नपाएपछि पछिल्लो निर्वाचनमा नयाँ शक्तिका रुपमा उदय बनाइदिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि उही ड्याङ्गको मुला जस्तै बनेको छ ।

हुन त कट्टर गणतन्त्रवादी प्रचण्ड प्रधानमन्त्री र कट्टर राजतन्त्रवादी राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्नुलाई नै रोचक मान्न सकिन्छ । यस्तो मन्त्री मण्डलबाट जनताले आशा राख्नु नै वेकार छ । भ्रष्टाचार गर्नु भनेको आमाको रगत पिउनु सरह हो भन्ने लिङ्देनले भ्रष्ट छवी भएका र अख्तियारले समेत डामेका विक्रम पाण्डेलाई शहरी मन्त्री बनाउँदा के नै जान्छ ।

आखिर जनता त ४८ सालमा लौह पुरुष गणेशमानले भने जस्तै भेडा त हुन् । भेडा त भ्याऽ भ्याऽ गर्छ बस्छ । त्यसले के नै गर्न सक्छ र ?