मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् ।

गाउँ तथा सहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी पासोमा परेको भन्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानसँग प्रधानमन्त्री दाहालले भेट गरेका हुन्। पीडित किसानसँगको भेटमा प्रधानमन्त्रीले यस समस्यालाई आफूले समाधान गर्ने विश्वास दिलाएका छन् ।

प्रधानमन्त्रीले भने, अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छौँ । मिटरब्याजी समस्याले हजारौँ किसान पीडित भएका छन् । यसलाई मैले राम्रोसँग बुझेको छु र यसपटक तपाईँहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।