विमान दुर्घटना पोस्टमार्टम सकियो पहिचान अझै बाँकी

काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनाका मृतकमध्ये काठमाडौँ ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम सकिए पनि ४९ वटै शवको पहिचान भने भएको छैन ।

त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले शुक्रबार रातिसम्ममा सबै शवको पोस्टमार्टम सकिएको जानकारी दिए । उनले त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक विज्ञहरूको टोलीले मात्र पोस्टमार्टम गर्न असम्भव भएपछि पाटन, भरतपुर, भक्तपुरलगायतका अस्पतालबाट फरेन्सिक विज्ञको टोली ल्याएर पोस्टमार्टम सकिएको बताए।

डा. चौधरीका अनुसार शुक्रबार थप दुईवटा शवको पहिचान भएको छ । ती दुई शव रसियन नागरिक रहेका छन् । रसियन नागरिकको शव आफन्तले बुझिसकेका छन् । अघिल्लो दिनसम्म २५ जनाको शव पोस्टमार्टम भएको थियो । तीमध्ये १६ शवको पहिचान भएको थियो । १६ शवमध्ये १२ शव आफन्तले बुझेका थिए ।

“पोस्टमार्टम सकिएको छ,” फरेन्सिक विभाग प्रमुख डा। चौधरीले भन्नुभयो, “अब शनिबारबाट शव पहिचानमा लाग्नेर्छौ ।” हालसम्म १८ जनाको मात्र शव पहिचान भएको बताए । शनिबार बेलुकीसम्म कतिवटा शवको डीएनए परीक्षण गर्नुपर्ने हो त्यसको विवरण आउने बताए ।

पोखराबाट २५ वटा शवको प्रहरीले नाम लेखेर पठाएको थियो । उनले पहिचान भएका शवमध्ये मृतकका शरीरमा भएका ट्याटु, चेन, गहना, लुगा, घडीलगायतको सामग्रीका आधारमा पहिचान गरिएको बताए ।