काठमाडौँ । पछिल्लो दुई दशकयता सोलुखुम्बुमा ६५ महिलाले अङ्गीकृत नागरिकता लिएका छन् । विसं २०५८ देखि हालसम्म ६५ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अङ्गीकृत नागरिकता लिनेमा ४९ भारतीय र १६ चिनियाँ रहेको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताए । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई विवाह दर्ता गर्नेबित्तिकै नेपाली नागरिक हुने कानुनी व्यवस्था छ ।
नेपालको संविधानको धारा मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भन्ने व्यवस्था छ । यस्तै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्षको नौ महिनामा २ हजार ४ सय आठ थान नेपाली नागरिकता वितरण गरेको छ । यसमा ४ सय ५० जनाले प्रतिलिपि लिएको सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताए ।
जिल्लामा ४ महिलाले नागरिकताबाट पतिको नाम हटाएका छन् । उनीहरुले सम्बन्धविच्छेदपछि नागरिकताबाट पतिको नाम हटाएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Add Comment