बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘सोनाम ल्होसार’को शुभकामना

काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ ले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

शर्माले आज एक सन्देश जारी र्गदै ‘सोनाम ल्होसार’ तामाङ समुदायमा नयाँ वर्षका रूपमा धुमधामका साथ मनाइने पर्व भएको उल्लेख गर्दै सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, नव वर्ष आरम्भको यस सुखद् घडीमा ल्होसार पर्व मनाउने समुदायका स्वदेश–विदेशमा रहनुहुने दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीहरूप्रति सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

शुभकामना सन्देशमा उनले विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवं बन्धुत्व र पारस्परिक मेलमिलाप नै हाम्रो समाजको मूल चरित्र भएको जनाउँदै हाम्रा यस्ता राष्ट्रिय धरोहरप्रति हामी सबैले गौरवबोध गर्न सक्नुपर्ने बताएका छन् । उनले यस्ता पर्वले सामूहिक हित, आपसी सम्मान र भाइचाराको सम्बन्ध विकास तथा विस्तारमा प्रेरित गर्न सकोस् भन्ने शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।