आयोजना प्रमुखलाई नै जिम्मेवार बनाउनुपर्ने

काठमाडौँ । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै जिम्मेवार बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे जानकारी गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री लिङ्देनले उक्त धारणा व्यक्त गर्र्नुभएको हो । सो अवसरमा उहाँले क्रसर उद्योगका कारण निर्माण उद्योगमा देखिएको समस्या चाँडै समाधान हुने बताउनुभयो ।

महासङ्घका अध्यक्ष रवि सिंहले क्रसर उद्योग सञ्चालनमा देखिएको समस्याले निर्माण कार्य ठप्प रहेको जानकारी गराउनुभएको थियो । निरन्तरको मूल्य वृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भएबमोजिम २० प्रतिशत मोबिलाइजेसन पेस्की व्यवसायीले पाउनुपर्ने अध्यक्ष सिंहले बताउनुभयो ।

व्यवसायीको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएकोप्रति अध्यक्ष सिंहले उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण गराउनुभयो । निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि मात्र नयाँ आयोजनाको ठेक्का लगाउन र पाँच प्याकेजको व्यवस्थालाई अझ व्यवस्थित बनाउन अध्यक्ष सिंहले आग्रह गर्नुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा एडीले व्यवसायीहरूले भुक्तानी पाएमा त्यसको फाइदा राज्यलाई नै हुने तर्क राख्नुभयो । महासङ्घका महासचिव रोशन दाहालले रकमान्तर गरेर भए पनि भुक्तानीको समस्या समाधान गर्नुपर्ने बताउनुभयो । गोरखापत्र