आकासियो खसीको मासुको मूल्य, दशैंमा भाउ अझै बढ्ने

काठमाडौं, भदौ। भारतबाट आयात रोकिएपछि खसीको मासुको मूल्य आकासिएको छ । आयात रोकिने वित्तिकै हजार रुपैयाँबाट उकालो लागेको मासुको मूल्य अहिले किलोकै १३ सय रुपैयाँ पुगिसकेको छ।

सामान्य समयमा किलोको १३ सय रुपैयाँ पुगेको खसीको मासुको मूल्य दशैंमा कति पुग्ला ? व्यवसायी भन्छन् ‘दशैंमा चाहिने खसीबोका नआए किलोकै १६ सय रुपैयाँसम्म पुग्छ।’

दशैंको समयमा उपत्यकामा मात्र ५० हजार खसी माग हुन्छ। कलंकी खसी बजार संघका अध्यक्ष जनकराज खतिवडाले भारतबाट खसीबोका नआए मूल्य अझै आकासिने बताउँछन्।उनका अनुसार अहिले गैरकानुनी बाटोबाट खसी भित्रिरहेको छ।‘दशैंको समयमा भारतबाट खसी नआए मूल्य जिउँदोनै ८ सय रुपैयाँ सम्म पुग्न सक्छ,’उनले भने,’जिउँदो ८ सय पुगे मासुको मूल्य किलोकै १६ सय पुग्छ।’

अहिले बजारमा जिउँदो खसीको मूल्य प्रतिकेजी ५ सय ८० देखी ६ सय २० रहेको छ भने मासु किलोको १३ सय रुपैयाँ पुगेको छ । दशैं अघि ७ दिनमा मात्र उपत्यकामा ५० हजार खसीको आवश्यक पर्छ ।

खाद्यले ३ हजार खसी च्याङग्रा ल्याउने

खाद्य संस्थानले यो र्षको दशैंका लागि ३ हजार खसीरच्याङग्रा उपत्यका ल्याउने भएको छ। संस्थानले गत वर्ष २ हजार खसी च्याङग्रा ल्याउने भनिएपनि १३ सय मात्र ल्याएको थियो।

खसी अभाव भएकै कारण कोटा भन्दा कम खसी आयात गरिएको संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले बताए। उनका अनुसार यो वर्ष ३ हजार खसी च्याङग्रा ल्याउने तयारी संस्थानले गरेको छ । तर हालसम्म पनि संस्थानको बोर्डले पास गर्न सकेको छैन।