यही माघ १६ गतेदेखि अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने

काठमाडौँ । नेपाल टेनिस सङ्घको आयोजनामा जे ६० काठमाडौँ आइटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–१ प्रतियोगिा यही माघ १६ गतेदेखि हुने भएको छ ।

यु.१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ आठ तथा गल्र्सतर्फ सात राष्ट्रको सहभागिता रहने आयोजक सङ्घका सदस्यसमेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिएका छन् ।

ब्वाइज र गर्ल्स दुवैमा समान ६४(६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२/३२ खेलाडीको ‘मेन ड्र’ का लागि शनिबार र आइतबार छनोट खेल खेलाइने बताएका छन् ।

छनोटको ब्वाइजमा नेपालबाट नौ, भियतनाम, चाइनिज ताइपेइ, चीन र दक्षिण कोरियाबाट समान तीन–तीन, अमेरिका र हङकङबाट समान दुई/दुई तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

गर्ल्समा नेपालबाट नौ, हङकङ, बेल्जियम, रुस र थाइल्यान्डबाट एक–एक, मङ्गोलियाबाट दुई र भारतबाट ४९ खेलाडी सहभागी हुने र प्रतियोगिताको खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने भएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब रु १२ लाख खर्च हुने आयोजकले जानकारी दिएका छन् ।