अन्तर्राष्ट्रिय उडान ठप्प, व्यवसायीहरू लगानी डुब्ने चिन्तामा

काठमाडौँ । गत पुस देखि खराब मौसम (हुस्सु)को कारण देखाउँदै गौतम बुद्ध विमानस्थलबाट  अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि उत्साहित बन्दै करोडौँ लगानी गरेको व्यवसायीहरू चिन्तित बनेका छन् ।

सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले करोडौँ लगानी गरेका होटेल व्यवसायीहरु अहिले विमानस्थल नचल्दा ठुलो समस्यामा परेको बताए । उनले अझै बन्दै गरेका गरेका होटलहरु बीचमै निर्माण रोक्ने अवस्थामा पुगेको बताए ।

अहिले हुस्सुलाई कारण देखाएर जजिरा एयरलाइन्स, हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान रोकेका छन् । त्यसको सिधै असर पर्यटन व्यवसायीलाई परेको नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीको भनाइ छ ।

अन्तर्राष्ट्रिय विमान पूर्ण रूपमा नचल्दा लुम्बिनीमा पनि पर्यटकहरू अपेक्षा गरे अनुसार आउन नसकेको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले बताए । उनका अनुसार गौतम बुद्ध विमानस्थल निर्माण गर्दा बुद्धटिष्ट देशमा धेरै विमान उडान गर्ने सोचले जापान, म्यानमार, चीन लगायतका देशलाई लक्षित गरियो । तर, सोचअनुसार काम नहुँदा लुम्बिनी पर्यटक नआउनु स्वाभाविक रहेको बताए ।

४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा जति चिन्ता यहाँको निजी क्षेत्रलाई छ, त्यति सरकारकी पक्षमा देखिन्न ।

गत जेठ २ गते विमानस्थल उद्घाटन भएसँगै कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । विमानस्थलको मात्र नभई राष्ट्रकै हवाई सेवाबारे विश्व बजारमा नकारात्मक सन्देश गएको भन्दै निजी क्षेत्रका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।

व्यवसायीले केही दिन अघि अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश शर्माले आफूहरूले भारतका पर्यटन व्यवसायीदेखि छिमेकी प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग छिटै भारत गएर छलफल गर्ने तयारीमा रहेको बताए ।

उनले भने, ‘हामी योगी आदित्यनाथसँग समय मागेका छौ । अबको हप्ता १० दिन भारत पुगेर विमानस्थलको विषयमा कुरा गर्दैछौ । अनि यहाँ नेपाल सरकारका उच्च तहसँग उता भएको छलफल सुनाउने छौ ।’

नाटा लुम्बिनी प्रदेश पूर्व अध्यक्ष सागर अधिकारीले अहिले स्थानीय तहलाई विमानस्थल सञ्चालनको सचेतनामूलक कार्यक्रम गरिरहेको बताए । उनले छिटै दुई तहमा समिति गठन गरेर काम गर्ने बताए ।