किन पुगे प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट ?

काठमाडौँ । चौथो दलका रुपमा रहेका राष्ट्रिय स्वतन्त्र पाटीले सरकार छाडेपछि सरकार के हुन्छ भन्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली निवास बालकोट पुगेका छन् । अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड बुधबार बिहान ओली निवास बालकोट पुगेका हुन् ।

निवर्तमान उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेका नागरिकका काण्डपछि सरकारलाई समर्थन गर्दै सरकारबाट बाहिरिएपछि सरकारलाई दिइएको समर्थन पनि फिर्ता लिने हो कि भन्ने आशंका बढ्दै गईरहेको छ ।

यो आशंकाले सरकारलाई पर्न सक्ने सम्भावित खतराका बारेमा छलफल गर्न दाहाल ओली निवास पुगेको भएपनि सरकार सञ्चालन, राष्ट्रपति उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा कुराकानी गर्न बालकोट पुगेको भनिएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ । यसैको बहानामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसरी सम्वोधन गर्ने भन्ने विषयमा पनि ओली र दाहालले चासो लिएका छन् ।

राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवारी दिने तयारी गरेका छन् भने माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने भन्दै आएको छ । राष्ट्रपतिमा माओवादी र एमाले एकमत नहुँदा पुस १० मा बनेको सत्ता गठबन्धन भत्कने हो कि भन्ने संशय पैदा भएको छ ।