आज उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

फइल तस्बिर

काठमाडौँ । सरकारको कार्यसम्पादनमाथि छलफल गर्न आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको भेटवार्तापछि सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित संयन्त्रको बैठक तय भएको हो ।

बुधबार बालकोटमा एमाले अध्यक्ष ओलीसँग भेटेर पछि प्रधानमन्त्री दाहालले संयन्त्रको बैठक बस्ने र राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने बताए ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि बस्न लागेको संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, सुदूरपश्चिम प्रदेश सरकारको विश्वासको मत र राष्ट्रपति निर्वाचनलगायतका एजेन्डामा छलफल हुने नेताहरूले बताए ।