सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत आज लिँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि बुधबार बिहान ११ र दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो ।

संविधानको धारा १६८ को उपधारा (२०) बमोजिम गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावल मुख्यमन्त्री नियुक्त भएका थिए । तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले मत दिन आनाकानी गरे पछि रावल नेतृत्वको सरकार संकटमा परेको छ ।

सो पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाइ नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरेपछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुँदै आएको छ ।

उन्मुक्ति पार्टीले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । उन्मुक्ति पार्टीले टीकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेका नेता रेशम चौधरीलगायतका नेताहरुलाई रिहा नगरेसम्म रावललाई विश्वासको मत नदिने चेतावनी दिएको छ ।