सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् गठन

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ बमोजिम नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिशमा आज मन्त्रिपरिष्द्को गठन तथा कार्यविभाजन गरेको छ ।

कार्यविभाजन अनुसार कमलबहादुर शाह मुख्यमन्त्री, आन्तरिक मामिला, उद्योग पर्यटन वन तथा वातावरण, भूमिव्यवस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्री, प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास तथा नरेशकुमार शाही आर्थिक मामिला मन्त्री तोकिको छ ।

मुख्यमन्त्री शाहले पहिलो चरणमा नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी० का प्रदेशसभा सदस्यलाई समटेर मन्त्रिपरिषद् गठन गरेको छ । नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री देउवा गत निर्वाचनमा कैलाली क्षेत्र नं ५ तथा आर्थिक मामिला मन्त्रीमा नियुक्त शाही बाजुरा जिल्लाबाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आजै आयोजित समारोहमा प्रदेश प्रमुख जोशीले नवनियुक्त मुख्य मन्त्री र अन्य मन्त्रीलाई छुट्टाछुट्टैरुपमा पद तथा गोपनीयताको सपथ गराए ।

यसैबीच मुख्यमन्त्री शाहले आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेको छ ।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्ययोजना समिति गठन भएको र समितिले ३० दिनभित्र दिने प्रतिवेदनका आधारमा भ्रष्टाचार नियन्त्रणको योजना अघि बढ्ने पहिलो निर्णय गरिएको जानकारी दिए । भौतिक पूर्वाधार विकास मन्त्री र आर्थिक मामिला मन्त्रीले पनि आजै मन्त्रालय पुगेर आफ्नो पदभार ग्रहण गरेको छ ।

प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाहलाई प्रदेशको मुख्यमन्त्रीमा बिहीवार नियुक्त गरेको थियो । त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का सभामुख वाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।