राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै डाक्टरमाथि कुटपिट

काठमाडौँ । प्रहरीले कुटपिट गरेको भन्दै वीर अस्पतालका चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्। ड्युटीमा रहेका बेला प्रहरीहरू आएर आफूहरूमाथि कुटपिट गरेको भन्दै उनीहरूले अस्पताल बाहिर सडकमा विरोध गरेका थिए।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न गएकी थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो ।

सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो। त्यही बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।

बाटो खाली गराइएको बेलामा हिँडेको भन्दै प्रहरीले सिंहलाई कुटपिट गरेको हो। उनको टाउकोमा चोट लागेको छ। चिकित्सकहरूको विरोधका कारण केहीबेर यातायात अवरुद्ध भएको थियो।

राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको उनीहरूको आरोप छ। राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनीथ सिंह प्रहरीको कुटाइबाट घाइते भएका छन्।

वीरका चिकित्सक जाफिर आलमले अस्पतालको परिचय पत्र देखाउँदा देखाउँदै प्रहरीले कुटपिट गरेको बताए। घटनामा संलग्नलाई कारबाही नगरेसम्म अस्पतालमा सेवा सुचारु गर्नसक्ने अवस्थामा नरहेको उनले बताए।

घटनाको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् । घटनामा संलग्न प्रहरीले माफी माग्नुपर्ने माग ट्रमा सेन्टरका प्रशासन शाखा प्रमुख नवराज गौतमको भनाइ छ ।