डेण्टिस होइन डेण्टल सर्जन भन्न डा सुवासको आग्रह


काठमाडौं, असोज । दन्त प्रत्यारोपण सम्बन्धि एक दिने निशुल्क तालिम सम्पन्न भएको छ । नव दन्त चिकित्सकहरुले सहज रुपमा दाँतको प्रत्यारोपण गर्न सकुन भन्ने मुख्य उदेश्य सहित तालिमको आयोजना गरिएको हो ।
ओम समाज डेन्टल हस्पिटलले शनिबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले दन्त प्रत्यारोपण सम्बन्धि तालिमले सैद्धानिक ज्ञानका साथसाथै व्यवहारिक पक्षमा पनि मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्रालयका पुर्व सचिव डा. प्रविण मिश्रले नेपालमा दन्त चिकित्सकहरुको संख्या बढ्दै गईरहेकाले दक्ष जनशक्तिको चित व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
दन्त प्रत्यारोपण सम्बन्धि निशुल्क तालिम नेपालमा पहिलो पटक आयोजना गरिएको हो । नेपालमा दन्त सर्जनहरुको संख्या वृद्धि भईरहेकाले आधुनिक एंव जटिल प्रविधिलाई सहज रुपमा प्रयोग गर्न र चिकित्सकहरुलाई उर्जा थप गर्न तालिमको आयोजना गरीएको हो । सरकारले हात धुने अभियान चलाए जस्तै मुख धुने अभियान चलाउनु पर्ने ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुवास घिमिरेको भनाई रहेको छ । उहाँले आफूहरु ‘जसको दाँत सवल उसको जीवन सफल’ नारा बोकेर हिडिरहेकाले दन्त चिकित्सकहरुलाई डेण्टिस नभनि आफूलाई डेण्टल सर्जनका रुपमा परिचय दिन समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा मुख स्वास्थ्य सम्बन्धि लामो समयसम्म क्रियाशिल रहनु भएका चिकित्सकहरुलाई सम्मान गरिएको थियो । साथै भारतका २ जना दन्त चिकित्सकहरुले आफ्नो कार्यपत्र पनि प्रस्तुत गरेका थिए ।