राणा शासनका बडाहाकिमजस्तै, अहिलेका नेताहरू : प्रचण्ड

काठमाडौ, असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका नेताहरू राणाशासनका हाकिम बडाहाकिमजस्तै हुने गरेको बताएका छन्।

बिहीबार रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा इन्भेष्टमेन्ट समिटमा उनले आन्दोलनपछिका नेताहरू राणा शासनका हाकिम बडाहाकिमजस्तै हुने गरेको बताएका हुन् ।

उनले राणाशाहीविरूद्ध आन्दोलनदेखि अहिलेसम्म नेपाली नेताहरूमा एक किसिमको विचित्र द्विधा र परिघटना देखिएको बताए ।

‘जनता, पार्टी, नेता कार्यकर्ताहरूले आन्दोलन गर्ने राजनीतिक परिवर्तनका ठूल्ठूला घोषणा गर्ने तर केही वर्षपछि नेताहरूलाई पूरानो संरचनाहरूले विस्तारै भुत्ते बनाउँदै लैजाने गरेका छन्,’ प्रचण्डले भने, ‘राणा शासनका हाकिमरबडाहाकिम थिए, आन्दोलनपछिका नेताहरू पनि बिस्तारै बडाहाकिमजस्ता हुने गरेका छन्।’

उनले पञ्चायतविरोधी आन्दोलनपछि धेरै परिवर्तनको अपेक्षा राखे पनि अवस्था नबदलिएको बताए। जनता र सरकार दुबैको परिवर्तनको चाहना भए पनि कतिपय कुराले राणाशाही जस्तै भएको हुँदा त्यस्तो परिस्थितिलाई अन्त्य गर्नुपर्ने प्रचण्डको भनाइ छ।