रेग्मीविरुद्ध अदालतमा मुद्दा दर्ता, ५ वर्ष कैद सजायको माग

काठमाडौँ । बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरूद्ध मुद्दा दर्ता भएको छ।

बिहीबार काठमाडौं जिल्ला अदालतमा रेग्मीविरूद्ध मुद्दा दर्ता भएको हो। सरकारी वकिल कार्यालय काठमाडौंले रेग्मीविरूद्ध ५ वर्ष कैद सजायको माग गर्दै शुक्रबार मुद्दा दायर गरेको छ ।

उक्त मुद्दामा दोषी ठहर भए १ लाख जरिवाना र ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । गीतकार महेश आचार्यको उजुरीको आधारमा फागुन ८ गते थाइल्याण्डबाट नेपाल आउँदै गरेको बेला रेग्मीलाई प्रहरीको साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

सामाजिक सञ्जालमा चरित्रहत्या हुनेगरी निकृष्ट गालीगलौज गरेको भन्दै आचार्यले उजुरी दिएका थिए । उनको उजुरीमाथि गीतकार संघ, संगीतकार संघ, सांगीतिक संघ, संगीतकर्मी संघ, संगीत उद्योग संघ र प्रस्तोता समाजले संयुक्त विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका छन् । रेग्मीको उक्त कार्यले सांगीतिक क्षेत्र दुःखी भएको समेत उनीहरुले उल्लेख गरेका छन् ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले थाइल्याण्डबाट नेपाल आउने क्रममा रेग्मीलाई यही फागुन ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको थियो । रेग्मी हाल प्रहरी हिरासतमा छन् ।