उपराष्ट्रपति पदका लागि तीन प्रतिष्पर्धीको भिडन्त, कसले मार्ला बाजी

काठमाडौं । मुलुक संघीय गणतन्त्र नेपालमा रुपान्तरण भए पश्चात तेश्रो राष्ट्रपतिका रुपमा फागुन २५ गतेको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भए । राष्ट्रपतिका निर्वाचित भएसँगै तेश्रो उपराष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ।
उपराष्ट्रपति पदका लागि गठवन्धनमा देखिएको समस्याका बाबजुत तीन जना प्रतिष्पर्धीका रुपमा उत्रिएका छन् । जसका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्। सत्तारुढ गठबन्धनबाटै तीन जनाको उम्मेदवारी परेकामा जसपाकी प्रमिलाकुमारी यादव पछि हटेकी हुन्।

निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ। स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरूलाई आयोगले अनुरोध गरेको छ।

यो निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले गरेको छ। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ गणना हुन्छ।

कुनै उम्मेदवारले प्राप्त गरेको कुल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भए निर्वाचन अधिकृतले उक्त व्यक्ति निर्वाचित भएको घोषणा गर्नुपर्ने व्यवस्था ऐनको दफा ५५ ९२०ले गरेको छ। बहुमत नपुगे सबैभन्दा बढी मत प्राप्त दुई उम्मेदवारबीच पुनः निर्वाचन गराउनुपर्ने हुन्छ। पुनः मतदानमा कुनै उम्मेदवारले प्राप्त गरेको मत कुल मतको ५० प्रतिशतभन्दा बढी भए निर्वाचित भएको घोषणा गर्नुपर्ने ऐनमा उल्लेख छ।

५० प्रतिशत नकटाए पुनः निर्वाचन गराउनुपर्ने हुन्छ। त्यस बेला कुल सदर मतको बढी मत पाउने उम्मेदवार निर्वाचित हुन्छन्। दुई वा सोभन्दा बढी उम्मेदवारको मत बराबर भए निर्वाचन अधिकृतले नै गोली हाली निर्णय गर्ने व्यवस्था छ।