एसियन फुडको गोदाममा छापा मार्दा कुहिएको दलहन बरामद, साहुलाई उन्मुक्ति कामदार फन्दामा

काठमाडौँ । जनतालाई कुहिएको केराउ र मुगीको दाल विक्री वितरण गरेको आंशकामा प्रहरीले एसियन फुडको गोदाममा छापा मारेको छ । प्रहरी छापा मार्दा ७५ हजार किलो कुहिएको केराउ र मुगीको दाल फेला पारेको हो ।

नयाँ केराउ र मुगीको दालमा कुहिएको मिसाएर बजारमा विक्री वितरण गर्ने तयारीमा रहेको सो गोदाममा प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार छापा मारी ६५ हजार किलोग्राम हरियो केराउ र एघार हजार किलोग्राम मुङको दाल फेलापारेको हो । गोदाममा लामो समयदेखि भण्डारण गरी राखिएका हरियो केराउ र मुङको दाल कुहिएर अखाद्य बनिसकेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामग्रीको बजार भाउ करिब ७७ लाख रुपियाँ हुनसक्ने अनुमान गरिएको छ। । बरामद गरिएका सामग्री पूर्णरूपमा कुहेर अखाद्य बनिसकेका छन्। प्रहरीका आइतबार बेलुकासम्म सो गोदामका सञ्चालक, स्टोरकिपर र गाडीका चालक गरी चार जनालाई पक्राउ गरिएको छ। उनीहरूमाथि कालोबजारी गरेको अपराधमा मुद्दा चलाइने भएको छ। बरामद गरिएका सामान गोदाममा नै सिलबन्दी गरिएको छ। बिक्री वितरणका लागि बजार लैजान तयारी अवस्थामा राखिएका चालीस बोरा सामग्री जफत गरी प्रहरी परिसरमा ल्याइएको छ।

दुईवटा गाडीमा ‘लोड’ गरिएको चालीस बोरा हरियो केराउ जफत गरिएको प्रहरी जनाएको छ। चार तलाको सो गोदाममा ब्लक ए, बी, सी, डी वर्गीकरण ती अखाद्य सामग्री राखिएको पाइएको हो ।

प्याकिङ मिति उल्लेख भएको बोरा फालेर नयाँ बोरामा ‘रि–लेबलिङ’ गरेर ती अखाद्य सामग्री बजारमा बिक्री वितरण गर्दै आएको र फेरि बजार लैजान लागेको अवस्थामा विशेष सूचनाको आधारमा फेला पारिएको हो।

प्रहरीले यसरी अखाद्य पदार्थ विक्री वितरण गर्ने गोदाममा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएको भए पनि गोदामका साहुको नाम सार्वजनिक गरेको र्छैन । प्रहरीले कामदारलाई मात्र होइन साहुलाई नै कार्वाही अगाडि बढाउनु पर्ने देखिन्छ । साहुलाई पक्राय गरे मात्र उपभोक्ताले न्याय पाउँछन् ।