डाँकारामको कामले ढाकारामको पद स्वाहा

फाईल तस्बिर

काठमाडौं । ‘खोला बढे गड्गडाउँछ, छोटो बढे हडबढाउँछ’ भन्ने उखान राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद ढाकाराम श्रेष्ठले पुष्टि गरिदिएका छन् । चिकित्सा विज्ञानका विद्धान गरिएका ढाकारामको डाँकारामकै कारण सांसद पद स्वाहा हुन पुगेको हो । आफ्नो स्वार्थ पूरा भए ठिक नभए वेठिक भन्ने दुर्गा प्रसाइँ जस्ता व्यक्तिसँग २ करोड रुपैयाँ मागेर जनताले विश्वास गरेको पाटीमाथि नै कुठाराघात गर्न खोजेपनि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको हो ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको हो । जनतालाई भ्रष्टाचार विरुद्ध संघर्ष गर्न सिकाउने पार्टीको सासद आफै मन्त्री भएर तिम्रा काम गरिदिउँला भन्दै बार्गेनिङ्गमा उत्रिनु पक्कै पनि स्वभाविक भने हुँदै होइन ।

सांसद भएको एक महिना पुग्न नपाउँदै मन्त्री भएर सहयोग गर्ने नाममा २ करोड रुपैयाँ माग्न सक्ने डाक्टर ढाकाराम यो वा त्यो नाममा डाकारामका रुपमा चिनिने भएका छन ।

श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । पुस अन्त्यमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

यो अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको अनुशासन समितिले छानबिन थालेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो । बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रविले बताए । उनले अगाडि भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’

लेनदेन भएको नदेखिए पनि पैसा मागेको अडियो उहाँकै भएकाले कारबाही गरेको सभापति लामिछानेले बताए । यद्यपि पार्टीको विधान अनुसार श्रेष्ठले पुनरावेदन भने गर्नसक्ने उनले बताए ।