विद्यालय सञ्चालन अघि नै विकट जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाण्डौ । यस वर्ष नयाँ शैक्षिकसत्र सुरु भएसँगै सबै ठाउँमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको सरकारले जनाएको छ । अति दुर्गम र हिमाली गरी ६० जिल्लामा पाठ्यपुस्तक पुर्‍याइसकिएको र अरु जिल्लामा पनि कक्षा सुरु हुने बेलासम्म पुगिसक्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पाठ्यपुस्तक नपुगेको अवस्थामा तत्काल सम्पर्क गर्न अपिल गरेको छ । केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीका अनुसार पाठ्यपुस्तक नपुगेका पालिकाले सम्बन्धित शिक्षा कार्यालय वा काठमाण्डौमा जनक शिक्षा लिमिटेड र शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा सिधै सम्पर्क गर्न सकिन्छ । जनक शिक्षाका अनुसार यस शैक्षिक सत्रको लागि आवश्यक सबै पाठ्यपुस्तक छपाइ पूरा भएर वितरणको काम पनि धमाधम भइरहेको छ ।

सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० को १ करोड ५० लाख थान र निजी क्षेत्रले कक्षा १ देखि ५ को १ करोड १८ लाख थान पाठ्यपुस्तक छापेका हुन् । पाठ्यपुस्तक वितरण गर्न केन्द्रले देशभर १ हजार २ सय ६७ वटा स्थानीय बिक्रेता तोकेको छ ।

हिजो आइतवारदेखि नयाँ शैक्षिक सत्र सुरू भइसकेको छ । सरकारले यसवर्ष बालबालिका भर्ना भएसँगै हातहातमा नयाँ पाठ्यपुस्तक वितरण गर्ने कार्यक्रम तय गरेको छ । यसैअनुसार दुर्गम जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक वितरण थालिएको हो ।

जनक शिक्षाले पाठ्यपुस्तक अभाव हुन नदिन र समयमै विद्यालयमा पुस्तक पुर्‍याउने वातावरण बनाउन बिक्रेतालाई आग्रह गरेको छ ।