साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ । साताको दोस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । आज नेप्से परिसूचक २३.६४ अङ्कले ओरालो लागेर १ हजार ९ सय ८.०४ मा बन्द भएको छ ।

आज कारोबार भएका ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७८ अङ्कले ओरालो लागेर ३ सय ६२.९६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ ।

आजको कारोबारमा कूल ३१ लाख ४४ हजार ५ सय ७३ कित्ता शेयर रु ९२ करोड ७८ हजार ५ सय ७१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएकामध्ये २३ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय ८८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर  कम्पनीको ७ करोड २ लाख ४३ हजार ६ सय ४२ बराबरको कारोबार भएको छ । एनआइसी एशिया बैंक ३ करोड ११ लाख ५६ हजार ७ सय ४३, माछापुच्छ्रे बैंक रु दुई करोड ६७ लाख ६ हजार ७ सय ४० र हिमालयन डिस्टिलरी २ करोड ६३ लाख ७ हजार ७ सय ४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार घटेको बजारमा आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ । यस्तै, कालिञ्चोक दर्शन ९. ९८, मैलुङ हाइड्रोपावर कम्पनी ९.९६, सिभिल बैंकको ऋणपत्र ६.१० र सामलिङ पावरको शेयर मूल्य ४.९९ प्रतिशतले बढेको छ ।

सनराइज ब्ल्यूचिप फण्ड ६.२५, एनआइसी एशिया ग्रोथ फण्ड ५.१४, उन्नति सहकार्य लघुवित्त ४.३४, उपकार लघुवित्त ४.२१ र कालिका लघुवित्तको शेयर मूल्य ४.१० प्रतिशतले घटेको छ ।