ठेक्काको काम समयमा नगर्दा आधा दर्जन पुल अलपत्र

काठमाडौँ । ठेक्काको काम समयमा नगर्दा भेरी करिडोरअन्तर्गत आधा दर्जन पुल अलपत्र परेका छन् । क्याराभान कन्स्ट्रक्सनले ठेक्का लिएका जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने आधा दर्जन पुल अलपत्र परेका हुन् ।

सडक विभागको पुल महाशाखाबाट ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी बोलपत्र गरिएको थियो । ठेक्का लिएको १ वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन ।

नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, तात्रगाड, झुम्रेखोला र नलगाडमा क्याराभान कम्पनी निर्माण जिम्मा लिए पनि काम गरेको छैन । जाजरकोट, डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीको पुल क्याराभान कन्स्ट्रक्सनले लिएर ठेक्का बिक्री गरेको छ । दुई वर्षसम्म ठेक्का होल्ड गरेर उक्त कम्पनीले रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको हो ।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले खोलेको रु १५ करोडको ठेक्का क्याराभान कन्स्ट्रक्सनले रु १४ करोड १७ लाखमा रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको थियो । सडक डिभिजन चौरजहारीलाई जिम्मेवारी नदिएर काठमाडौँबाटै खोलिएका यी ठेक्का अहिले वर्ष दिनदेखि अलपत्र परेका छन् ।

पुलको निर्माणको डिजाइन स्टिमेट मन्त्रालयमा गत असोजदेखि थन्किएको छ । क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकालीले पुल निर्माणको लागत अनुमानसम्बन्धी प्रतिवेदन (डिजाइन स्टिमेट) स्वीकृत गर्न पुल महाशाखालाई ताकेता गर्दा पनि सुनुवाइ नभएको आरोप लगाए । अहिले भेरी नदीका केही ठाउँमा कम भार बहन क्षमताका बेलिब्रज पुल निर्माण गरेर यातायातका साधन सञ्चालन भइरहेका छन् ।

त्यस्तै जाजरकोटको तल्लु बगर, डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर विसं २०७९ माघ २६ मा वाइपीएमआर जेभी चितवनले ठेक्का पाएको थियो । सडक विभागको पुल महाशाखामा सम्झौता भएर अहिले डिजाइन स्टिमेटको काम भइरहेको जनाइएको छ । यसको अनुगमन तथा मूल्याङ्कन सुर्खेतस्थित पुल विभागले हेर्दै आएको छ ।

जाजरकोटको पासागाडदेखि डोल्पाको मरिमसम्म २ सय ३१.५ किलोमिटर लम्बाइ रहेको छ । भेरी करिडोरको जम्मा लम्बाई तीन सय १० किलोमिटर छ । अहिले पासागाड–रिम्नाहुँदै तल्लु बगरसम्म कालोपत्रको काम सुरु भएको सडक डिभिजन चौरजहारीले जनाएको छ ।