अन्नपूर्ण आरोहणका क्रममा १ जनाको मृत्यु

काठमाडौँ । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा १ जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ ।

काठमाडौँको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको ७ हजार ५ सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनका अनुसार ‘सेभेन समिट ट्रेक्स ’बाट आरोहणमा गएका आरोही नोयल हन्नाको मृत्यु भएको छ । उनको शव ६ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ । उनीहरु दुवैजना आज बिहानदेखि बेपत्ता भएका थिए ।

सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु वेपत्ता भएका हुन् । सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार सफलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी वेपत्ता भएका थिए ।

उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौँ लैजाने तयारी गरिएको छ । बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ ।