मिटरब्याज पीडितका माग पूरा नगरे सडक संघर्ष गर्ने : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिए।

मङ्गलबार प्रतिनिधिसभामा विशेष समय लिएर आफ्नो भनाइ राख्दै अध्यक्ष लिङ्देनले चेतवानी दिएका हुन् । मिटरब्याज पीडितमाथि हिजो (सोमबार) निर्मम ढङ्गले आक्रमण गरेको उल्लेख गदै अध्यक्ष लिङ्देननले त्यसको निन्दा र भर्त्सना समेत  गरे ।

गरिब र निमुखा ती मानिसहरू माथि किन आक्रमण गर्नु परेको भनी सरकारलाई अध्यक्ष लिङ्देनले प्रश्न समेत गरे । उनले सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताए ।

‘‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन । कसैले पनि हेपिनु पर्दैन । राज्य अभिभावक छ भनेर राज्य अभिभावकको रूपमा उभिनुपर्नेमा न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरूलाई सरकारले हिजो जुन निर्मम ढङ्गले आक्रमण गरेको छ । त्यसको म निन्दा र भर्त्सना गर्न चाहन्छु । यतिबेला ती निमुखा मानिसहरूमाथि आक्रमण भएको छ । जुन बेला यस्तो सरकार छ । जसले समाजमा गरिबहरूको अथवा सर्वहारावर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौँ भनेर सपना बाँढेको थियो ।,’’ अध्यक्ष लिङ्देनले भने, ‘‘त्यो सपना बाँडेन पार्टी र उसको नेतृत्वमा अहिले सरकार छ । तर यति नै यो गरिब र निमुखामाथि राज्यले किन बर्बर आक्रमण किन भइरहेको छ ? हामी भन्न चाहन्छौँ कि सरकारले मिटरब्याज पीडितहरू र अहिले तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरु जो पुनस्स्थापनाको काम गरिराखेका छन् । उनीहरूको मागलाई सरकारले समयमै सम्बोधन गरोस् ।’’