सुडानमा १८५ को मृत्यु, १ हजार ८०० घाइते

काठमाडौँ — सुडानमा केही दिनदेखि जारी द्वन्द्वको क्रममा मृत्यु हुनेको संख्या कम्तीमा १ सय ८५ पुगेको छ । द्धन्द्धमा १ हजार ८ सय जना घाइते भएका छन् । मृत्यु हुनेमा ९७ जना आम नागरिकहरू रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय प्रतिनिधिहरूले दिएको यो तथ्यांकभन्दा धेरै मानिसको मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ । जारी लडाइँका बीच राजधानी खार्तुमका सडक र आसपासमा लडिरहेका शव उठाउन नसकिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

सुडानमा दुई सुरक्षा निकायबीच द्वन्द्व चर्किँदा पछिल्लो केही दिनयता झडप भएको छ । हाल सरकारी सेना र र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच झडप भएको हो । आरएसएफ र सेनाले राष्ट्रपति रहने क्षेत्र‚ खार्तौम विमानस्थल र अन्य महत्त्वपूर्ण क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । स्थानीय बासिन्दाहरूलाई भने सुरक्षित स्थानतर्फ जान आदेश दिइएको छ ।

आरएसएफले भने यो भीडन्तलाई आफ्ना जनताको अधिकार पुनर्स्थापना गर्ने लडाइँ भन्दै आएको छ । नयाँ क्रान्तिले अझै आफ्नो महान लक्ष्यहरू प्राप्त गरिरहेको छ, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण लक्ष्य हो, नागरिक सरकारको गठन । जसले हामीलाई वास्तविक लोकतान्त्रिक संक्रमणतर्फ लैजानेछ, आरएसएफको विज्ञप्तिमा उल्लेख छ ।

आरएसएफका कमाण्डर मोहम्मद हमदान दागालोले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अन्य मित्र राष्ट्रहरूसँगको वार्तापछि यस्तो निर्णय भएको बताएका हुन् । उनले यसअघि नै सर्वसाधारणलाई सुरक्षित अवतरण गराउन र घाइतेहरूको उद्धार सुनिश्चित गर्न २४ घण्टाको युद्धविराम स्वीकृति गरेको जनाएका थिए ।

सरकारी सेनाले एक विज्ञप्ति जारी गर्दै २४ घण्टाको युद्धविरामका सम्बन्धमा मध्यस्थकर्ता वा अन्तर्राष्ट्रिय समुदायसँगको कुनै पनि समन्वयबारे आफू अनजान रहेको जनाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफूले हेमेत्तीु भनेर चिनिने आएरएसफका प्रमुख मोहम्मद हमदान दागालो र सेना प्रमुख अब्देल फत्ताह अल– बुर्हानसँग छुट्टाछुट्टै वार्ता गरेको जनाएका छन् ।

आएरएसफले गत साता नै राजधानीका प्रमुख स्थान नियन्त्रणमा लिएको दाबी गरेपछि सेनाले पनि आरएसएफको बेसक्याम्प रहेको क्षेत्रमा हवाई आक्रमण गरेको थियो । एजेन्सी