संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगियो

काठमाडौँ । संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

उक्त बैठकमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी एउटै मात्र ‘एजेण्डा’ भए पनि कुनै ठोस निर्णय नभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । सोबारे अर्को बैठकमा निर्णय गर्ने गरी बैठक सकिएको उनले बताए ।

उपप्रधानमन्त्री तथा रक्षा एवं कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले परिषद्को बैठक बसेको उल्लेख गर्दै बैठकमा प्रधानन्यायाधीश नियुक्तिसँग सम्बन्धित विषयमा छलफल भएको जानकारी दिए । “प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी एजेन्डा थियो, त्यो एजेण्डामा छलफल भयो, बैठक स्थगित भयो”, उनले भने। अर्को बैठक कहिले बस्नेबारे समय नतोकिएको उनको भनाइ छ ।

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री खड्का र मुख्यसचिव शङ्करदास वैरागी सहभागी थिए ।

प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्षनेताबीच आइतबार भएको भेटमा सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा संवैधानिक परिषद्को बैठकबाट सिफारिस गर्ने सहमति भएको थियो । दलहरूबीच सहमति भएपछि प्रधानमन्त्री दाहालले परिषद्को बैठक बोलाएको हो । लामो समेदेखि प्रधानन्यायाधीश पद रिक्त छ ।