संझौता कार्यान्वयन नभए काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

काठमाडौँ । काठमाडौंको फोहोर फालिदै आएको नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने चेतावनी दिएका छन् ।

दुबै नगरपालिकाले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै यस अघि गरिएको संझौता १५ दिनभित्र कार्यान्वयन नभए फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।

गत २३ जेठ, २०७९ मा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिका तथा गत २६ जेठमा नै काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच सम्झौता भएको थियो ।

‘काठमाडौंको फोहोरको जिम्मा हामिले लिएका छैनौं, यहाँ सधैं फोहोर फाल्ने अनि सम्झौता गर्ने तर कार्यान्वयन चाहिं नगर्ने ? फोहोर र मान्छे एक ठाउँमा बस्न सक्दैन’ अध्यक्ष लामाले भने ।

वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोलि गठन गरेर न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने लगायतका सात बुँदे माग उनीहरुले अघि सारेका छन् ।

दुवै पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किमि जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया तुरुन्त अगाडि बढाउनु पर्ने उनीहरुले माग गरेका छन् ।