पाल्पा दरबार क्षेत्रका संरचना भत्काउन रोक

काठमाडौँ । तानसेन नगरपालिकाले पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ । दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएपछि नगरपालिकाले संरचना भत्काउने कार्य रोकेको हो ।

दरबार सङ्ग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल सङ्गठनको एक, कर्मचारी मिलन केन्द्रका ३ वटा घर टहरा रहेका थिए ।

सामान हटाएपछि घरटहरा भत्काउन सुरु गरिएकोमा हाललाई अदालतको पत्रपछि भत्काउने कार्य स्थगित गरिएको जनाएको छ ।

तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले दरबार क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने योजनाकासाथ अगाडि बढाएको संरचना भत्काउने कार्य सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेकाले तत्कालका लागि संरचना भत्काउने काम रोकिएको बताए । उच्च अदालतले म्याद तामेल भई छलफलका लागि बोलाएकाले दरबार क्षेत्र भत्काउने कार्य तत्कालका लागि स्थगित गरिएको छ ।