‘नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए ।

यही वैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नं २ को महागढीमाई नगरपालिकामा आज पाँचदलीय गठबन्धनद्वारा आयोजित बृहत् आमसभालाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले भने, “विमानस्थल निर्माणसम्बन्धी सबै प्रक्रिया सुरु भइसकेको छ, चाँडै शिलान्यास हुन्छ र निर्माणको काम अगाडि बढ्छ ।”

मुलुकको विकास र समृद्धिमा ठूलो टेवा पुग्ने भएकाले निजगढ विमानस्थलको छिट्टै शिलान्यास गरी निर्माण कार्य अघि बढाइने उनको भनाइ थियो ।

पशुपति विकास कोष र लुम्बिनी विकास कोषजस्तै बाराको गढीमाई क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गढीमाई विकास कोष स्थापना गरिने घोषणा गदै प्रधानमन्त्री दाहालले यसबाट गढीमाई क्षेत्रको मात्र नभई मुलुककै पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

हाल बन्द रहेको मटियर्वा भन्सारलाई सञ्चालन गर्न सरकारले तयारी थालेको र छिट्टै भन्सार सञ्चालनमा आउने उनको भनाइ थियो । विगतमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउँदासमेत राष्ट्रपतिले नागरिकता विधेयक रोकेका कारण नागरिता समस्या समाधान हुन नसकेको उल्लेख गदै उनले अब छिट्टै पुनः दुवै सदनबाट नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सिध्याउने षड्यन्त्र भइरहेकाले षड्यन्त्रलाई चिर्न र संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताए ।

मधेसप्रति समर्पित नेताका रूपमा रहनुभएका जसपा अध्यक्ष यादवलाई पाँच वर्ष काम गर्ने अवसर दिन मतदातासँग आग्रह गदै उनले निर्वाचनपछि बाराको विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा स्थायित्व कायम गर्न र कानूनी राज्यलाई परिपालना गराउने दिशामा यो गठबन्धन लागिपरेको बताए । “मुलुक बनाउन, संविधानको रक्षा गर्न, जनतालाई न्याय दिलाउन पाँचदलीय गठबन्धन बनेको हो”, पूर्वप्रधानमन्त्री नेपालले भने, “विगतमा संविधानलाई समाप्त पार्न र मुलुकलाई बर्बाद गर्न के–के भयो ? भन्ने कुरा हामी सबैलाई थाहै छ, यदि त्यतिखेर गठबन्धन नभएको भए मुलुक बर्बाद भइसकेको हुन्थ्यो”, उनले भने।

निजगढ विमानस्थल निर्माणलाई प्राथमिकता दिन प्रधानमन्त्रीसँग आग्रह गदै उनले गठबन्धनको नेता जसपा अध्यक्ष यादव चुनाव जितेर आएपछि यहाँका जनताको इच्छा पूरा हुने दाबीसमेत गरे ।