म चितवनले रोपेको बिरुवा हुँ : सभापति लामिछाने

फाईल तस्बिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले आफू चितवनवासीले हुर्काएको बिरुवा भएको बताए । चितवनको भरतपुरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले गत निर्वाचनमा रोपेको बिरुवालाई मलजल दिन आग्रह गरे ।

उनले भने, “गत निर्वाचनमा तपाईंहरूले रोपेको बिरुवा हुँ म । त्यो बिरुवालाई हुर्काउन मल चाहिन्छ । सम्पूर्ण गालीहरूलाई सङ्कलन गरेर मल बनाएका छौँ । हामीले त्यसलाई प्रयोग गर्नेछौँ । यसपटक मल त हालिसकेका छौँ । अब जल हाल्ने जिम्मेवारी तपाइँहरूको हो ।”

उनले अब चितवनले एक व्यक्तिलाई मात्रै नभएर देशलाई न्याय गर्ने बताए । उनले देशलाई परिवर्तनको जबर्जस्ती आवाज चाहिएको बताउ । लामिछानेले भने, “यो साथको निरन्तरता चाहिएको छ । तपाईंलाई झुक्याउन जरुरी छैन । आँधीहुरी जे आए पनि नडराउनुहोला । न्यायका लागि आवाज उठाए, न्याय चाहिन्छ भने आजको दिनमा चितवन जानुहोस् भन्ने मान्यता स्थापित भएको छ ।”

उनले अबको चार वर्षपछि २०८४ मा हुने आमनिर्वाचनमा देशभरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनाउने दाबी गरे ।

कार्यक्रममा तनहुँबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्नुभएका डा स्वर्णिम वाग्लेले देशका विकृति र विसङ्गतिको विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी शान्तिपूर्ण विद्रोहमा उत्रिएको बताए । सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डीपी अर्याल, प्रवक्ता मुकुन्द ढकाल, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू तोसिमा कार्की, हरि ढकाल, सबिता गौतमलगायतले सम्बोधन गरेका थिए । रासस