नेपालगञ्जमा एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास

काठमाडौँ । नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्र्याकको शिलान्यास गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार शिलान्यास गरेका छन् ।

एथ्लेटिक्स ट्याक १० महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको ११ करोड ६४ लाखमा ट्याक निर्माणको जिम्मेवारी प्रतीक्षा कन्स्ट्रक्सन प्रालिले पाएको छ ।

एथ्लेटिक्स ट्र्याकको शिलान्यास गर्दै सदस्यसचिव घिसिङले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा नेपालगञ्ज रङ्गशालामा खेलकुदका आधुनिक संरचना निर्माण गरिएको भए पनि अपूर्ण रहेकाले रङ्गशालालाई पूर्णता दिन लागिएको बताए ।

“कुनै पनि रङ्गशालामा सेन्थेटिस ट्र्याकको निर्माण अनिवार्य छ, सदस्यसचिव घिसिङले भने, “सबै हिसाबले नेपालगञ्ज रङ्गशालालाई पूर्णता दिने योजनाअनुसार बजेट विनियोजन भई काम सुरु भएको छ ।”

एथ्लेटिक्समा बाँके र लुम्बिनी प्रदेशले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरेको उत्कृष्ट प्रदर्शनको सम्मान गर्दै सरकारले ट्याक निर्माण गर्न लागेको उनको भनाइ छ ।

एथ्लेटिक्स ट्याक निर्माण भएपछि खेलाडीले अन्तर्राष्ट्रियस्तरको ट्र्याकमा तयारी गर्न पाउने भएकाले उत्कृष्ट प्रदर्शनका लागि सहज हुने सदस्यसचिव घिसिङको भनाइ छ । राजधानी बाहिर पोखरा र दाङको बेलझुण्डीपछि नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको सेन्थेटिक ट्र्याकको निर्माण सुरु भएको छ ।