नेकपाको एकतालाई पुनर्जीवित गर्न चाहन्छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पुनर्जीवित गराउन लागिपर्ने बताए। उनले केही दिन भित्रै समाजवादी मोर्चा बनाएर तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई पुनर्जीवित गराउनका लागि अपिल गर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली जनता र लाखौँ कम्युनिष्ट कार्यकर्ताले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा नेपाली जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकिने उनको तर्क छ। उनले नेताहरूको सनकको भरमा त्यो एकता टिक्न नसकेको भन्दै अब देशको हितका लागि पनि त्यसलाई फर्काएर अघि बढ्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले, ‘‘‘कम्युनिष्ट आन्दोलनलाई, वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्ने आवश्यकता र जिम्मेवारी पूरा भयो भन्ने होइन। फेरि पनि हामीले सही विचारको आधारमा, सही नीतिको आधारमा कम्युनिष्टलाई एकताबद्ध गर्ने कुरा जारी राख्नु पर्दछ। हामी त्यही प्रक्रियामा छौँ। जो कम्युनिष्ट आन्दोलनको एकता, जनतावादी केन्द्रीयताको सिद्धान्तको पक्षमा छैनन्, उनीहरू अहिले पनि कम्युनिष्ट पार्टी एकताको पक्षमा छैनन्। हामी कम्युनिष्ट पार्टी एकताको पक्षमा छौँ। राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्दछ भन्ने पक्षमा हामी छौँ। अहिले कमरेड माधवकुमार नेपाललगायत हामी थुप्रै नेताहरूसँग अहिले छलफल भइरहेको छ। हामी भनिराखेका छौँ, नेकपातिर नै फर्कनु पर्दछ। म अहिले फेरि आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको यो ऐतिहासिक अवसरमा अहिले पनि यो देशका एकता र सुदृढीकरणको निम्ति हामी एक हुनु जरुरी छ। विना आग्रह, पूर्वाग्रह समीक्षा गरौँ। विचार धारात्मक रूपमा समीक्षा गरौँ। आत्म समीक्षा गरौँ। नेकपा नेताको सनकका कारणले दुर्घटनामा परे पनि जनता र आम लाखौँ कार्यकर्ताले अनुमोदन गरेको एकता हो। त्यो एकता हामीद्वारा प्रस्तावित एकता हो। त्यसकारण हामी सबै त्यो एकतालाई पुनर्जीवित गर्न चाहन्छौँ। देशको आवश्यकता र जनताको चाहनालाई हेरौँ।’’