आचारसंहिता उल्लंघन गरेको भन्दै रवि लामिछाने र प्रजिअविरुद्ध उजुरी दर्ता

चितवन ।  चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी  दिएको छ ।

निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वेवास्ता गरेको भन्दै उजुरी हालेको हो ।

नेपाली काँग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । उनले उजुरीपत्रमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशन बमोजिम कारबाही गरी पाऊँ भनी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जीतनारायण बेडको तर्फबाट उजुरी पेश गरेका छन् ।

निर्वाचनमा प्रशासनबाट आवश्यक सहयोग भएन र रास्वपाले आचारसंहिता उल्लङ्घन भएको भनी उजुरी परेकाले त्यस पत्रमाथि आवश्यक अध्ययन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिए ।