काठमाडौँ । नेपाली सेनाको १६ नं वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी–२०७९’ जितेको छ । सैनिक मुख्यालयमा आज आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई ३ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
सेनाले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगीता यस पटक गत चैत २७ गते सुरु भएको थियो । प्रतियोगितामा एथेलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी गरी नौ विधाका खेल समावेश थिए ।
प्रतियोगिताअन्तर्गत सैनिक मुख्यालयको खेलमैदानमा जग दल गण र श्रीमेहर गणबीच आज भएको फुटबल खेलमा शून्यको विरुद्ध एक गोलले जगदल गण विजयी भई रु ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा श्रीमेहर गण दोस्रो र देवीदत्त गण तेस्रो घोषित भयो । दोस्रो र तेस्रो हुने गणलाई बलाध्यक्ष रथी सरोजप्रताप राणा र सीताराम खड्काले क्रमशः रु ४० हजार र रु २० हजार नगद, प्रमाणपत्र प्रदान गरेका छन् । प्रतियोगीतामा उत्कृष्ट गोल किपर जगदल गणका सञ्जय बराल र सर्वोत्कृष्ट खेलाडी सोही गणका सनी लामा घोषित भए ।
प्रतिभाशाली खेलाडीको पहिचान गरी खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्ने उद्देश्यले विसं २०६५ देखि यो प्रतियोगिता गरिँदै आएको छ । पछिल्लो समय ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता’ नेपाली खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण साबित भएको छ ।
समारोहमा विभिन्न खेल विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गौरवमय पहिचान कायम गर्न सफल खेलाडीलाई पूर्वप्रधानसेनापतिद्वय गौरवशम्सेर राणा र राजेन्द्र क्षत्रीले पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरेका छन् ।
प्रतियोगिताअन्तर्गत आर्चरी पूर्वी पृतना, ऐथेलेटिक्स र सुटिङमा १६ नं वाहिनी अड्डा, तेक्वान्दोमा उपत्यका पृतना, पौडीतर्फ विशेष फौज वाहिनी, भलिबलतर्फ मध्यपूर्वी पृतना प्रथम घोषित भएका थिए । रासस
Add Comment