उपनिर्वाचन : तनहुँ १ मा ५१.७० प्रतिशत मत खस्यो

तनहुँ । तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७ सय ५७ मत खसेको छ ।

उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता थिए । गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो ।

बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदाता उत्साहजनक रूपमा मतदान गर्न मतदान केन्द्र पुगेका थिए। मतदाता बिहानैदेखि छाता ओढेर भए पनि मतदान गर्न पाउँदा उत्साही देखिएका थिए।

तनहुँ– १ सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।