काठमाडौँ । नेपाल बुद्धिचालम हासंघले बुद्धिचालमा च्याम्पियनद्वय रुपेश जैसवाल र सुजना लोहनीलाई मासिक १० हजार रुपियाँ तलब भत्ता उपलब्ध गराउने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत दुवै फिडेमास्टर रुपेश र सुजनालाई महासङ्घले पहिलो पटक मासिक भत्ता उपलब्ध गराउन लागेको जानकारी दिएको हो ।
बुद्धिचाल खेलको इतिहासमा खेलाडीले मासिक भत्ता पाउन लागेको यो पहिलो पटक हो । यसअघि फुटबल र क्रिकेटका खेलाडीले यस्तो भत्ता पाउँदै आएका छन् ।
महासङ्घले राष्ट्रिय च्याम्पियन खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनका लागि दाना उत्पादक कम्पनी सागर फिड्ससँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा महासङ्घका अध्यक्ष विदुरप्रसाद गौतम र सागर फिड्सका प्रबन्ध निर्देशक ज्ञानेन्द्र पराजुलीले हस्ताक्षर गरे।
सम्झौतासँगै सागर फिड्सले महासङ्घलाई वार्षिक २ लाख ४० हजार रुपियाँ उपलब्ध गराउने छ । जसबाट खेलाडीलाई भत्ता उपलब्ध हुनेछ । महासङ्घका अध्यक्ष गौतमले खेलाडीलाई प्रोत्साहन स्वरूप मासिक भत्ताको काम सुरु गरिएको बताए ।
Add Comment