टस हारेर कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज (शनिबार) नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिले फिल्डिङ रोेजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।

१० टोली सहभागि प्रतियोगितामा नेपाल समूह ‘ए’ मा अपराजित रहँदै विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । कुवेतले समूह ‘बी’ को उपविजेताको रुपमा नेपालसँगको भिडन्त पक्का गरेको थियो ।

प्रतियोगिताको उपाधि चुम्ने लक्ष्यमा रहेको नेपाल सेमिफाइनलमा कुवेतलाई हराएर फाइनलमा स्थान बनाउने अभियानमा छ । नेपालका लागि कुवेत तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी हो । यसअघि दुई टोलीबीच तीन वटा भिडन्त भएको छ । जसमा नेपालले दुई र कुवेतले एक खेल जितेको छ ।

यस्तै मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ‘ए’ को उपविजेता ओमान र समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई) भिड्दैछन् ।

सेमिफाइनलमा पराजित टोलीबीच वैशाख १७ गते तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।