अवरुद्ध बनेको सडक खुलाउन अझै केही घन्टा लाग्ने

काठमाडौँ । पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै केही घन्टा लाग्ने भएको छ । भासिएको ठाउँमा ग्यावियन जाली भर्ने काम भइरहेको छ । यसका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले काम जारी राखेका छन् ।

सोमबार दिउँसोदेखि अवरुद्ध बाटो तत्काल खुलाउन सकिने अवस्था छैन । काम भइरहेकाले कम्तीमा चार–पाँच घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको छ । यात्रु अलपत्रमा परेका छन् । पूर्वपश्चिमबाट आउने केही यात्रु स्थानीय गाडी प्रयोग गरेर वैकल्पिक बाटोबाट गन्तव्यतर्फ हिँडेका छन् भने अधिकांश यात्रु त्यही रोकिएका छन् । धार्के क्षेत्रमा जाम लागेपछि प्रहरीले गाडीलाई बीच बाटोमै रोकेका छन् ।

धादिङको धार्केबजार नजिकैको गणेशखोला पुलको मुखमा जमिन भासिएको हो । पृथ्वीराजमार्ग हुँदै पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौँ भित्रने र बाहिरने यो नै एकमात्र राजमार्ग हो । सोमबार दिउँसो केही समय परेको पानीले पुलको मुनि लगाइएको पर्खाल भासिएको छ ।