दार्चुलामा हिमपहिरो अपडेट : ७ को उद्धार, अझै ५ जना बेपत्ता

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिनमा मंगलबार दिउँसो गएको हिमपहिरोमा पुरिएका मध्ये ७ जनाको उद्धार गरिएको छ । भने अन्य ५ जना अझै बेपत्ता रहेका छन् ।

बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका ४ पोक्सेका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका २ बुडरका ४५ वर्षीया नक्की दोमा थापा, सोही ठाउँका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिम्मी थापा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

हिमपहिरोमा १२ जना पुरिएकोमा ६ जना पुरूष र १ महिलाको सकुशल उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनका अनुसार ४ महिला र १ पुरूष अझै बेपत्ता रहेका छन् ।

उनीहरू सबै जना यार्सागुम्बा खोज्न हिँडेका थिए। त्रिपालमा बसिरहेको बेलामा हिमपहिरोले उनीहरूलाई पुरेको हो। सशस्त्र प्रहरीको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ।