२१ वर्षपछि एसिया कपमा नेपाल

काठमाडौँ । घरेलु टोली नेपाल एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै एसिया कपमा छनोट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दै नेपालले एसिया कपका लागि टिकट काटेको हो। यूएईले दिएको १ सय १८ रनको मध्यम लक्ष्य नेपालले ३०.३ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो। नेपाललाई उपाधि दिलाउन गुलशन झाले अर्धशतकीय पालि खेलेका थिए। लामो समय क्रिजमा टिकेका उनले ८४ बलमा ६ छक्का र तीन चौकाको सहयोगमा ६७ रन बनाएका थिए।

गुलशनले भीम सार्कीसँग मिलेर चौथो विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। भीमले ७२ बलमा अविजित ३६ रन बनाए। निकै खराब सुरुवात गरेको नेपालले २२ रनमा महत्वपूर्ण तीन विकेट गुमाएको थियो। दुवै  ओपनरसँगै कप्तान रोहितकुमार पौडेल पनि सस्तैमा आउट भएका थिए। ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै रोहन मुस्तफाको एलबीडब्लू धरापमा पारेका थिए। अर्का ओपनर आसिफ शेख पनि व्यक्तिगत आठ रनमा आयान अफजल खानको एलबीडब्लू सिकार भएका थिए। यस्तै नौ बल खेलेर एक रन मात्रै बनाउन सकेका कप्तान रोहितकुमार पौडेललाई रोहन मुस्तफाले बोल्ड गरेका थिए। यूएईका रोहन मुस्तफाले दुई तथा आयान अफजल खानले एक विकेट लिएका थिए।

यसअघि १०६–९ को स्थितिबाट मंगलबार ब्याटिङ गरेको यूएईले ११ रन जोड्दै १०औं विकेट गुमाएको थियो। जुनैद सिद्धिकीले १० रन जोड्दै यूएईको योगफल १ सय १७ पुर्‍याएका थिए। सोमबार भारी वर्षाका कारण स्थगित भएपछि बाँकी रहेको खेल मंगलबार सञ्चालन गरिएको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए। यस्तै आर्यन लाक्राले १३, कप्तान मोहमद वासिमले ११ र बसिल हमिदले १० रन बनाएका थिए। सोमबार नेपालका ललितनारायण राजवंशीले तीन विकेट लिए। उनले मंगलबार जुनैद सिद्धिकीलाई पेभेलियन पठाएका थिए। यस्तै करण केसी र सन्दीप लामिछानेले दुई-दुई तथा गुलशन झा र सोमपाल कामीले एक÷एक विकेट हात पारेका थिए।

कुवेतसँगको सेमिफाइनल खेल पनि वर्षाले बिथोलेपछि समूह चरणमा गरेको प्रदर्शनका आधारमा नेपालले फाइनलमा स्थान बनाएको थियो। यूएईले भने बलियो टोली ओमानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा दुई रनले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो। एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा सञ्चालित प्रतियोगितामा १० राष्ट्रको सहभागिता थियो। सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ‘ए’ मा आयोजक नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र ओमान थिए। यस्तै समूह ‘बी’ मा बहराइन, कुबेत, सिंगापुर, हङकङ र यूएई थिए।

गुलशनको संयमित ब्याटिङ

नेपाललाई उपाधि दिलाउन अलराउन्डर गुलशन झाले संयमित ब्याटिङ गरेका थिए। अन्तिमसम्म क्रिजमा डटेका उनले करियरको दोस्रो अर्धशतक पूरा गरेका थिए। चौथो नम्बरमा ब्याटिङ गर्न उर्लिएका उनले ७५ बलमा अर्धशतक पूरा गरेका थिए। लामो समय क्रिजमा टिकेका उनले ८४ बलमा ६ छक्का र तीन चौकाको सहयोगमा ६७ रन बनाएका थिए।

उनले गत महिना नेपालमा नै भएको आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत त्रिकोणात्मक शृंखलाको यूएईविरुद्ध नै अर्धशतक बनाएका थिए। गत मार्च १६ मा भएको खेलमा उनले ४८ बलमा ५० रन बनाएका थिए। १७ वर्षीय झाले १६ एकदिवसीय खेलमा ३७.७७ को औसतमा ३ सय १३ रन बनाएका छन्।

सन्दीप सर्वोत्कृष्ट 

स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। अपराजित रहँदै नेपाललाई एसिया कपमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीप सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन्।

सन्दीपले प्रतियोगिताभर पाँच खेलमा १३ विकेट लिएका थिए। ब्याटिङतर्फ सन्दीपले ४२ रन बनाएका थिए। उनले समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध सो रन बनाएका थिए। नेपालले एकपछि अर्को विकेट गुमाइरहेको अवस्थामा सन्दीपले ५८ बलमा ६ चौकाको सहयोगमा सो रन जोडेका थिए। उनको उत्कृष्ट पालिमा नेपालले १ सय ५७ रनको मध्यम योगफल खडा गरेको थियो। कतारलाई ८९ रनमा रोक्दै नेपालले ६८ रनको जित निकालेको थियो। उक्त खेलमा सन्दीप एक्लैले पाँच विकेट लिएका थिए।

यस्तै यूएईका भृत्य अरविन्द उत्कृष्ट ब्याटर चुनिएका छन्। उनले ६ खेलमा दुई शतक र एक अर्धशतकसहित ४ सय ५४ रन बनाएका थिए। प्रतियोगिताभर आक्रामक ब्याटिङ गरेका उनले १८ छक्का र ४४ चौका प्रहार गरेका थिए। ओमानका तीव्र गतिका बलर बिलाल खान ६ खेलमा १७ विकेट लिँदै प्रतियोगिताकै उत्कृष्ट बलर चुनिएका थिए।

२१ वर्षपछि एसिया कपमा

नेपालले २१ वर्षपछि एसिया कप खेल्न लागेको हो। एसिया कप छनोटका रूपमा रहेको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपमा छनोट भएको थियो। सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपाल एसिया कपमा छनोट भएको थियो। त्यतिबेला एसीसी ट्रफीको फाइनल पुग्ने दुई टोली एसिया कपमा छनोट हुन्थे। उक्त फाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो। भारत र पाकिस्तानबीचको आन्तरिक विवादका कारण सन् २००२ को एसिया कप नै रद्द भएको थियो। जसका कारण नेपाल र यूएईले निराश हुनुपरेको थियो। त्यसपछि भने नेपालले एसिया कपमा स्थान बनाउन सकेको थिएन।

६ टोलीबीच प्रतिस्पर्धा

एकदिवसीय विश्वकप अघि एसियाका टोलीलाई तयारीका लागि एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप आयोजना गर्दै आएको छ। यसपटक पनि विश्वकप अघि एसिया कप आयोजना हुने तालिका छ। सन् १९८४ बाट सुरु भएको एसिया कपको १६औं संस्करण पाकिस्तानमा आयोजना हुन लागेको हो। प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पाँच पूर्ण सदस्य र छनोटबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्ने छन्।

एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने तय भएको छ। सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान र नेपाल छन्। यस्तै समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। हरेक समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छ। सुपर चारबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। एसिया कपको सर्वाधिक सफल टोली भारत हो। १६ संस्करणमध्ये भारतले आठ पटक उपाधि जितेको छ। यस्तै श्रीलंकाले ६ र पाकिस्तानले दुई पटक एसिया कप चुमेको छ।

पाकिस्तानमा एसिया कप हुनेमा द्विविधा

छिमेकी मुलुक भारत र पाकिस्तानबीच राजनीतिक खिचातानी रहँदै आएको छ। भारतमा भएका प्रतियोगितामा पाकिस्तान नआउने र पाकिस्तानमा आयोजना हुने प्रतियोगितामा भारत सहभागी नहुने परम्परा पुरानै हो। अझ सन् २००९ मा श्रीलंकन क्रिकेट टोलीबाट लाहोरमा आतंककारी आक्रमण भएपछि भारतले सुरक्षाको प्रश्न उठाउँदै पाकिस्तान जान इन्कार गर्दै आएको छ।

दुई राष्ट्रबीचको आन्तरिक विवादका कारण पाकिस्तानमा एसिया कप आयोजना हुन नसकेमा तटस्थ (न्युटल) भूमिमा प्रतियोगिता आयोजना गर्ने योजना एसीसीले बनाएको छ।

इमर्जिङ कपमा पनि छनोट

यसअघि प्रिमियर कपको फाइनलमा स्थान बनाउँदै नेपालले एसीसी एसिया कप इमर्जिङ कपमा स्थान बनाएको थियो। आगामी जुलाईमा हुने इमर्जिङ कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानका यू–२३ टोलीसँगै प्रिमियर कपका शीर्ष तीन टोलीले प्रतिस्पर्धा गर्ने छन्। एसीसी प्रिमियर कपबाट नेपाल, यूएई र ओमानले इमर्जिङ कपमा स्थान बनाएका छन्। इमर्जिङ कपमा नेपाल समूह ‘ए’ मा छ। यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र श्रीलंकाका यू–२३ टोली छन्। यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेशको यू–२३ टोली, यूएई ओमान छन्।

खेलाडीले दबाब थेग्न सिकेका छन्
मोन्टी देसाई, मुख्य प्रशिक्षक

एसिया कपमा भारत, पाकिस्तान र नेपाल एउटै समूहमा भन्दा मानिसहरूलाई पत्यार नलाग्न सक्छ। तर, यो सत्य हो कि नेपालले पनि एसिया कप खेल्दैछ। मैले खेलाडीहरूलाई एसिया कपको महत्व बारेमा प्रष्ट पारेको थिएँ। उनीहरू पनि फाइनल खेल जित्दै एसिया कपमा छनोट हुनेमा विश्वस्त थिए। यूएईलाई सकेसम्म चाँडै आउट गर्ने र त्यसपछि सहज रूपमा लक्ष्य पछ्याउने भन्नेमा सबै प्रष्ट थिए।

मंगलबार गुलशनलाई तेस्रो नम्बर पठाउने भनेर हामीले पहिले नै योजना बनाएका थियौं। गुलशन धेरै छिटो क्रिकेट सिक्दै छन्। उसको ब्याटिङ र बलिङ उत्कृष्ट छ। आजको खेलमा युवा खेलाडीले दबाब झेलेर उत्कृष्ट पालि खेल्नु महत्वपूर्ण हो। गुलशनलाई भविष्यमा राम्रो क्रिकेटर भएको हेर्न चाहन्छु।

‘ह्यापी ड्रेसिङ रुम’को धेरै परिभाषाहरू छन्। सबै खेलाडी इतिहास कोर्न चाहन्छन्। उनीहरूले धेरै मेहेनत पनि गरिरहेका छन्। नेपालले एसिया कप खेल्नुले के महत्व राख्छ भन्ने कुरा समर्थकलाई सोध्नुपर्छ। त्यो दर्के पानीमा छाता ओढेर अन्तिम समयसम्म बस्नुले के अर्थ राख्छ भन्ने कुरा म समर्थकको आँखामा आफूलाई राखेर हेर्न चाहन्छु।

पछिल्लो तीन महिनामा हाम्रो खेलाडीले दबाबमा कसरी खेल्ने भनेर सिकेका छन्। उनीहरूले आफूभित्रको दबाब मात्रै होइन, सिंगो राष्ट्रको दबाब थेग्नु पर्छ। हाम्रा खेलाडीले यसरी नै दबाब थेग्न सके भने एकदिन त्रिवि मैदानमा टेस्ट क्रिकेट खेलिरहेको हेर्न चाहन्छु।

भारत र पाकिस्तानसँग खेल्न पाउनु गर्वको विषय
रोहितकुमार पौडेल, कप्तान

एसिया कपमा छनोट हुँदा एकदमै खुसी लागेको छ। प्रतियोगिता अघि हामीले तयारी गरेका थियौं, त्यही अनुरूपको नतिजा आउँदा खुसी लागेको छ। सानैदेखि भारत र पाकिस्तानको खेल हेरेर हुर्किएको हो। एसियाका पावरहाउस भारत र पाकिस्तानसँग खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर सँगै गर्वको विषय पनि हो। त्रिवि मैदानको अवस्थाका बारेमा हामी पूर्णरूपमा जानकार थियौं। यहाँको एउटै पिचमा धेरै खेल भएको थियो। लगातारको वर्षाका कारण बल निकै टर्न भइरहेको थियो। त्यही कारण यूएईले बायाँहाते स्पिनरलाई बलिङमा उतार्छन् भन्ने थाहा थियो। उनीहरूलाई रोक्न पनि गुलशनलाई अगाडि पठाएका हौं।

एसिया कपले हाम्रा लागि धेरै महत्व राख्छ। नेपालले पनि क्रिकेट खेल्छ भनेर अब सबैले चिन्छन्। सन् २०१४ को विश्वकप हेरेर हाम्रो पुस्ता क्रिकेटमा लागेको हो। एसिया कपमा हाम्रो खेल हेरेर नयाँ–नयाँ खेलाडी प्रेरित हुनेछन्।एसिया कप खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर हो। भारत  र पाकिस्तानसँग खेल्दा विश्वले हेर्छन्। सबैले चिन्छन् पनि। खेलाडीले पनि व्यक्तिगत रूपमा राम्रो गर्न सक्यो भने विश्वका फ्रेन्चाइज लिगमा ‘एक्सपोजर’ पाउन सक्छन्। नेपाली दर्शकप्रति कृतज्ञ छु। भारी वर्षाको समयमा छाता ओडेर खेल हेरिदिनुभयो। उहाँहरूप्रति धेरै सम्मान छ। अन्नपूर्णपोष्टबाट