प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका ३ मन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्ति गरेका छन् ।

यसअघि आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका प्रधानमन्त्रीले नवौं पटकको मन्त्रिपरिषद् विस्तारमा पनि सरकारलाई पूर्णता भने दिन सकेनन् ।