नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

काठमाडौँ । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन्। नेपाली कांग्रेसबाट मन्त्री भएका उनीहरूलाई आज शपथ गराइएको हो।

धनराज गुरूङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बुधबार नियुक्त भएका थिए। मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ।

शपथ समारोह अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी कर्मचारीलगायतको सहभागिता थियो ।