कर्णाली नीति संवाद तथा युवा महोत्सव सुरु

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा आजदेखि नीति संवाद तथा युवा महोत्सव सुरु भएको छ । भोलिसम्म चल्ने युवा महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गरेका थिए । बालबालिका, किशोरकिशोरी तथा युवाका क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको संस्था युवालयले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका युवाहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन पश्चात प्रदेश योजना आयोग, कर्णाली प्रदेशका उपाध्यक्ष योगेन्द्र बहादुर शाहीले राष्ट्रिय युवा निती २०२५ का बारेमा अभिमुखीकरण दिँदै सहभागिबाट सुझाव संकलन गरेका थिए । त्यस्तै, स्थानीय तहको योजना निर्माण, कर्णाली प्रदेशलाई बाल विवाह मुक्त बनाउन युवाको भूमिका, कर्णाली क्षेत्रका सीमान्तकृत समूहको मूलप्रवाहिकरण तथा दलित अधिकार अभियानका बारेमा पनि विभिन्न सत्र सञ्चालन भएको छ । गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति जस्ता विषयमा पनि सहभागी युवालाई विज्ञहरूबाट अभिमुखीकरण प्रदान गरिएको छ ।

कार्यक्रमको अन्तिम दिन भोली सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर लगायतका विषयमा छलफल हुने युवालयका अध्यक्ष सन्तोष महर्जनले जानकारी दिए । कर्णालीलाई युवामैत्री प्रदेश निर्माण गर्नका लागि प्रदेश सरकारको सहयोगमा युवालाई नै परिचालन गर्ने उद्देश्य अनुरूप कार्यक्रम गरिएको महर्जनले बताए ।

भोलि आयोजना हुने समापन कार्यक्रममा २ दिने छलफलबाट आएका मुख्य मुद्दाहरूलाई समेटेर घोषणा पत्र तयारी तथा सार्वजनिक गर्ने र सो घोषणा पत्रलाई सम्बन्धित मन्त्रालय तथा प्रदेश योजना आयोगमा हस्तान्तरण गरिने आयोजक संस्थाले जनाएको छ ।