‘क्यान्टनमेन्ट काण्डको छानविन गर्न अख्तियारले खुट्टा कमायो’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा भएको आर्थिक हिनामिनाको बारेमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन् ।

बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । क्यान्टनमेन्ट काण्डको बारेमा अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन पनि उनले आग्रह गरे ।

बहिर्गमित लडाकुहरुलाई पैसा बाड्ने नाममा फेरी भ्रष्टाचार गर्न लागिएको उनले आरोप लगाएका छन् । अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने उनले दावी गरे ।

अध्यक्ष ओलीले माओवादीको सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको बताउदै क्यान्टनमेन्ट काण्डको बारेमा अख्तियारले छानविन गर्नुपर्ने बताए । उनले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने भन्ने हिसाबले चलखेल भइरहेको आरोप लगाए ।