रायमाझी खोज्न सिआइवीले लग्यो सीसीटिभी फुटेज

काठमाडौँ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीलाई खोज्न नेपाल प्रहरीले संसद सचिवालयबाट सिसिटिभी फुटेज लगेको छ ।

सीआइवीले रायमाझी खोज्न सहयोगका लागि संसद सचिवालयलाई पत्र लेख्दै सहयोग मागेको थियो । आज संसद सचिवालयबाट सीआईबीले सीसीटिभी फुटेज लगेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि एमाले नेता तथा सांसद रायमाझी अघिल्लो बुधबारबाट फरार भएका छन् । सांसद रायमाझीले वैशाख २५ गते संसद सचिवालयमा आफु बिरामी भएर संसदमा उपस्थित हुन नसकेको भन्ने ब्यहोराको पत्र पठाएका थिए ।

रायमाझीको पत्र संसद सचिवालयमा आएपछि नेपाल प्रहरीको अनुसन्धान ब्युरो सीआइबीले सचिवालयलाई सहयोगका लागि अनुरोधसहितको पत्र पठाएको थियो । सोही पत्र बमोजिम सीआइबीले सभामुखको कार्यकक्ष आसपासको सीसीटीभी नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार रायमाझीको पत्र बोकेर आउने मानिसको पहिचानका लागि उक्त सीसीटिभी सीआइबीले लगेको जनाएको छ ।